Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

बाङ्गे (हाँस्य कथा)

बाङ्गे (हाँस्य कथा)

"के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?" देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या त्यही गरेछ - आज सक्रान्ति, सत्तेनारानथान जान आइपुग्यो बाङ्गे ब्या'नै ।

न्यल्माटोलबाट पस्चिम लाग्दै डबलीमा पुगेसि बाङ्गेलाई सरसोतीथान पनि नघुमी भएन। मन्दिर पछाडि मान्छेले पेट खालि गर्या सबुत छ्यास्छ्यास्ति। सास रोकेर अगाडि आइयो। बाङ्गेले एक मोहोर चढायो सरसोतीलाई। टिका लायो, फूल राख्यो टाउकामा र अघि चढाको मोहोर फिर्ता खल्तीमा राख्यो।
"चढाको पैसा फेरि किन फिर्ता लेको ए बाङ्गे?" भन्दा "त्यो त अब पर्साद नि। पर्साद त लिनै पर्यो नि; मैले नलिए अर्कोले लिन्छ के गर्ने?" भन्यो।

सत्तेनारानथान जान रोगी जस्ता चालीस पचास वटा सिँढी ओर्लेर ढुङ्गे धारा मात्रै के पुग्याथिम् बाङ्गे अड्कियो।

"के भो?" मैले सोधें।

"आँखा हेर्न त्याँ?" बाङ्गेले ढुङ्गे धारामा मयल माड्दै गरेकी एउटी केटी देखायो। हो त रेखा त रेखै हो। के गर्ने समाजको डर, धीत मरुन्जेल् हेर्न पाइएन मयल मड्या। मन नलागी-नलागी सत्तेनारानथानतिर लागियो। छोटकरी दर्शन गरेर आउन खोज्या, किरन र पर्मोद बोकाहरू भेट भो, एकछिन अलमल भैहाल्यो। पछि आउँदा रेखा बाटो लागिसकिछे।

बाङ्गेले भन्यो "क्या ट्र्याजिडी पर्यो आज पनि।"मैले हो मा टाउको हल्लाएँ। यहाँ सन्दर्भ पर्या बेलाँ भनिराखम्, रेखाको असली नाम त लक्ष्मी रे। तर बाङ्गेले त्यो सिनेमाकी हेरोनी रेखा जस्ती छ भनेदेखि मैले पनि
लक्ष्मीमा रेखै देख्न थालें। त्यसरी ऊ हाम्री रेखा त भै तर हाम्रा हत्केलामा भने ऊ अझै कोरिइसकेकी थिइन। हामी निरन्तर कोसिसमा थिम् तर। बिज्ञापन सेवा सकिया तर बाल कार्यक्रम आउन बाँकी भाको समय थ्यो। बाङ्गे एउटा झोला च्यापेर आइपुग्यो म कहाँ।

"झोला बोकेर कता नि? अब चोर्न छोडेर माँग्न थालिस् कि के हो?" मैले हाँस्दै सोधें।बाङ्गेले जवाफ दिनु सट्टा झोला यसो खोलेर देखायो। हेर्छु त हर्लिक्सको सिसी छ बा! "किन ल्या यो?" मेरो प्रश्न खस्न नपाई "तन्काउन नि अरु किन?" भन्छ बाङ्गे त। "खाँदिन हर्लिक्स् सर्लिक्स्" मलाई नि रिस उठ्यो, "तँ मलाई हर्लिक्स् ख्वाउन आ ह्याँ?" मैले थपें। "काँ हर्लिक्स्?" बाङ्गेले फत्फताउदै सिसी झोलाबाट झिक्यो। भित्र त झोल पो छचल्किन्छ।
"के यो?" मेरो सोधाइलाई आँखामा चमक ल्याउदै बाङ्गेले गर्वसाथ जवाफ दियो, "ट्वाँट् नि, अरु के हुन्छ? बाउले ल्याको नयाँ माल यो। बिदेसी हो यो बिदेसी।" मेरा नि आँखा चम्के । घुटुक्क थुक् निल्दै भनेँ "ल हिँड्"।

अस्ति भिनाजु आउँदा राख्या दुइटा लालीगुराँसका खिल्ली पनि च्यापेँ मैले। घरमै ट्वाँट् लाउँदा रिस्क् अलि बढी हुने। झन् बाङ्गे म कहाँ आएसि त हाम्रो निगरानी निकै कडा हुन्थ्यो। बाङ्गे अघि लाग्यो म पछि। अघि हर्लिक्सको सिसी हेर्दा किताब कापी पनि देख्या थिएँ झोलामा। त्यसैले सोधेँ "किताब कापी नि बोक्या छस् नि त?" "तँ काँ पढ्न हिन्या भनेर आमालाई देखाउँदै हाल्या नि त झोलामा।" उसले भन्यो। चोकमा झोला बोक्या बाङ्गेलाई हेर्दै काकीले सोधिन् "काँ हिन्या हँ झोला बोकेर?", बाङ्गेले अनुहारै नहेरी जवाफ दियो "ट्युसन्"।

त्याँ पोखरी पस्चिमको भगवती मन्दिर पछडि गएर चुरोटको सर्कोसँगै ट्वाँट् लाउँदै थिएम्, बेला न कुबेला एउटी आइमाईलाई मन्दिर घुम्न पर्यो फेरि। "हेर यी केटाहरू बिग्रेका" भन्दै मन्दिर घुम्दै थिईन् बाङ्गेले "एउटै कुरो सधै भनिरहन दिक्क लाग्दैन? एक्-दुई चोटि भनेसि नि हाम्ले बाल् नटेरेसि त वास्ता नगर्नू नि।" भनेर झर्कियो। घिन् लाग्दो दृष्टि फ्यालेर भक्तालु हिनिन्। बाङ्गेले एउटा पट्ट्याको कागज निकाल्यो र भन्यो "यो मैले लेख्या लव् लेटर रेखालाई"। पछि के पर्छ पर्छ भनेर टाइप गरेर ल्याएछ छोटो हावादारी लव् लेटर्।

"मलाई नि त मन पर्छ नि रेखा। मलाई मन पर्यालाई तँ लव् लेटर् लेख्नी?" मलाई चित्त बुझेन। "अइलेसम्म के साईत हेरेर बसिराथिस् त?" बाङ्गे जङ्गियो। पर्दैन ट्वाँट् स्वाँट् खान ले भनेर खोस्यो बा बाङ्गेले त हर्लिक्स् को सिसी। गाई कि तिर्सुल् गरम् कस्ले दिनी लव् लेटर् रेखालाई भनम् कि जस्तो नि नलाग्या हैन तर रेखा भन्या हात नलाग्या माल, त्यो हात नलाग्या माललाई भनेर यो हात लागिसक्या ट्वाँट् माल छाड्ने कुरो मलाई मुनासिब लागेन र भनें "भैगो भैगो रेखा तँलाई नै भो, खै सिसी चै पास् गर्न यता।"

सिसी रित्तियएसि एनपी चुइगम् किनेर चपाउँदै लागिम् रेखाको घरतिर। त्यो रेखाको घर गल्लीभित्र चिबाल पनि नाघेर जानु पर्ने। दिउसै रात पर्या जस्तो अँध्यारो ठाम्। "बाङ्गे, सक्छस् दिन लेटर्?" मलाई पो डर जस्तो लाग्यो। "अहिले हेर् न कसरी दिन्छ दाइले" बाङ्गेले आफैंलाई मेरो दाइ बनायो। बाङ्गेको आँट त मान्नै पर्छ, "धेरै भए एक चड्कन् हान्ली। त्यसपछि आशै गर्न परेन त्यस्को, आर्की खोजम्ला" बाङ्गे ले तर्क गर्यो। उसले अलिकति कुरो फुस्क्यायो एकछिनपछि तर। बाङ्ग्या बाउले त्यो रेखाको बाउलाई भेट्न खोज्या रेछ घर थप्ने सम्बन्धमा कुरो गर्न। रेखाको बाउ घर सम्बन्धी टाकटुक गर्थ्यो। "बाउ रैनछ त्यस्को भने त्यै रेखालाई लेटर दिन्छु, बाउ रेछ भने घरमा आउनू रे भन्दिन्छु; डराउन पर्ने त केइ छैन नि" बाङ्गेले सुनायो।

रेखाको घरको ढोका हामीलाई नै भनेर खुला राख्या जस्तै रेछ। अहिले त बाहिर त अँध्यारै भैसक्याथ्यो, भित्र त झन निस्पट रेछ। बाङ्गे सनक्क सन्किएर भटाभट आफ्नै घर हो कि जस्तो गरेर भर्याङ् चढ्छ बा! म नि पैलो तलामा त पुगेँ । पल्याक्-पुलुक् हेर्या कोही छैन। एक किसिमको गन्ध त्यहाँ रुम्मल्लिराथ्यो।
"कल्लाई खोज्या?" रेखा पो भर्याङ् मुनिबाट सोध्छे। हामी भित्र छिर्या देखिछ क्यारे तेल्ले बाहिरबाट। हामीले केही भन्नुअघि नै ऊ भर्याङ् चढेर माथि आई। बाङ्गेले "बाउ खै?" भन्ला भनेको त "लाऊ, यो तिमीलाई" भनेर लेटर् पो तेर्साउँछ। मेरो त मुटुले ढ्याङ्ग्रो ठोक्यो।

"के यो?" रेखा हच्की।

"लेऊ न" बाङ्गेले हाताँ समातेर लेटर् जिम्मा लाइदिया मात्रै के थ्यो, चिट्ठी सिट्ठी फ्यात्त फ्यात्त फालेर बा-आमा भनेर कराउन थालि रेखा माया त। भएन के फसाद्! म भर्याङ्बाट तु ओर्लिने भाको, एउटो खुड्किलो बिग्र्या रेछ चढ्दा बिस्तारै चढ्या थाहा भएन अहिले त एक्कै चोटि तल खुर्मुरिएर रन्थनिदै बाहिरिएँ । बाङ्गे पनि मज्जाले पछरिएको हुनुपर्छ लड्या आवाज र त्यस्को "अइया" क्रन्दन् सुन्दा। बाङ्गे र म हुर्धुरिदै टाप् हानिम्। म त अहिले घर जान्न भन्दै बाङ्गे पनि मेरै पछि लाग्यो। मेरो कोठामा बत्ती-सत्ती नबाली बाङ्गे र म चुप-चाप स्वाँ-स्वाँ गरेर बसिम्। कुन बेलामा रेखाको बाउ आउने हो उफ्रिन भन्दै।

"लेटर् देको तैँले हो, मलाई त के को डर?" मैले सुनएँ बाङ्गेलाई। "त्यस्को बाउ आएर करायो भने नारान्दाइ, म त तपाईलाई बुवाले बोलाको छ आउनुस् भन्न जादै थिएँ, मलाई कुमले धकेलेर येल्ले ला यो मेरो लेटर् दे रेखालाई भन्यो। मैले हुन्न हुन्न भन्दा नि मानेन, अनि मैले देको हो यसको लेटर्। तर अबदेखि कहिल्यै यस्तो गर्दिन दाइ, भन्दिन्छु। टाइप् गर्या छ बाबु लेटर् टाइप्। नाम-साम पनि लेख्या छैन। केइ छैन मलाई मात्रै के को डर्!" भन्छ बाङ्गे त! "एक-एकलाऐ मार्दिन्छु" बाहिर रेखाको बाउ नारान्दाइ कराको सुनियो।

"ल खत्तम्, आयो तेरो बाजे" मैले बाङ्गेलाई धकेल्दै भनेँ। बाङ्गे चुप-चाप छ। "तरवारले हानेर छिनाइदिन्छु। के सोच्या छ? हाम्रो इज्जत् छैन?" नारान्दाइ उर्ली-उर्ली कुन हतियार् प्रयोग गर्ने भन्ने बारेमा समेत फलाकिराथ्यो बाहिर। घर पछाडिबाट बाङ्गे र म कौसिमा चढिम बस्तुस्थिति बुझ्न। नारान्दाइ सडकबाटै कराइरारेछ। सडकको बत्ती मुनि पाखुरा हावामा बजार्दै जाँड र रिसले होला यता र उति हुर्रिदै ऊ फेरि गर्जियो "छोड्दिन म। मरिगए छोड्दिन।" "सुनिस् बाङ्गे? भुत भएर नि आउछ रे। खुब फुर्ति गर्थिस् नि!" मैले थपेँ।
"अब के गर्ने यार्?" बाङ्गेको स्वरमा चिन्ता प्रसस्तै थ्यो।

"थाहा छैन मलाई। तँलाई अत्ति जान्ने हुनुपर्छ नि!" आफुले पनि दनक भेट्ने करीब करीब पक्कै थ्यो। मलाई नि रीस उठ्यो। बाङ्गेले यस्तो अभर पारिरन्छ बेला बेलामा। कौसीको पछाडितिर जहाँ हामी टुक्रुक्क बस्याथिम्, अध्यारो अध्यारोथ्यो। बाहिर उज्यालो सडकबाट मान्छे ठम्याउन मेहनत गर्नुपर्थ्यो। नारान्दाइ उफ्रिंदै थिए, मेरो काका पुगे त्याँ काहाँबाट हो जान्ने भएर "के भो नारान्दाइ?" भन्दै। "खुँडा ल्याउँछु घर गएर र छिनाइदिन्छु" नारान्दाइ फेरि डुकरिए। बाङ्गे र मैले मुखामुख गरिम्। "त्यो खुँडा लिन घर गयो भने हामी पनि धोबीखोलातिर टाप हान्नुपर्छ, बुझिस्" बाङ्गेले सुझाब दियो।

मेरो काकाले सम्झाउन थाले, नारन्दाइको स्वर अलि कम भो। बाङ्गे ले नारान्दाइको ज्यान मच्चेको देखेर भन्यो "जाँड त अत्ति खाने हो बुढो। ह्याँसम्म गनाइर'छ।" "गँनाउँछ तेल्ले खाको जाँड ह्याँसम्म तँलाई भनेर!" मैले भने। "अनि के गनाँ त यो डुङ्डुङ्ती?" बाङ्गेले सोध्दैथ्यो, थाहा भैहाल्यो नि। अघि गल्ली-गल्ली हुर्धुरिंदै भाग्दा कुन चैंले पेट खाली गर्या चिनो पाइन्टा मोताभरि लाएछ बाङ्गेले। "त्यस्को हात खुट्टा भाँच्न सकिन भने मेरो नाम नारनै हैन! म त छोड्दिन।" नारान्दाइ कुर्लेको सुनियो फेरि।

"बाठो रे छ नारन्दाइ सुनिस्? भाँच्न सके नारन् नसके फेरि न्वारन् रे" बाङ्गेले अझै चेत्या छैन। "अघि त्याँ भर्याङ्बाट लड्दा क्या छाती बजरियो भने एक दुइटा करङ् पनि भाँचियो कि जस्तो लगिराछ। जिउ दुखेर आयो, नुन् पानीले सेक्नुपर्छ जस्तो छ।" बाङ्गे फत्फतायो।

"पख् अब एकछिन। नारान्दाइले नि बजाओस् तेरो बाँकी भाका करङ्गमा बाजा, अनि एकै चोटि सेक्नु।" मैले नि भन्दिएँ।

"दीप! ए दीप!" काका कराए।
"हजुर्" ह्वात्तै मुखबाट निस्कियो।
बाङ्गे झर्कियो "किन बोल्या तँ?"
"ह्याँ आइज छिट्टो" काका कराए।
म फेला परेँ। कस्तो दशा लाग्या। बोलाको सुन्या-नसुनेइ गर्नुपर्ने। त्यै पनि काकाको अगाडि धेरै नकुट्ला नारान्दाइले। काकाले नि त बचाउलान्, भैगो भैगो भन्लान् नि। फेरि लेटर् मैले देको नि हैन। बरु अघि खाको ट्वाँट् गनाउनी हो कि? यस्तै कुरा खेले मनमा। एनपी चुइगम् बेस्सरी चपाउँदै मन नलागी नलागी कौसीबाट भर्याङतिरर लागेँ।

"म के गरुँ?" बाङ्गेले बिस्तारै सोध्यो।

"झुन्डिएर मर् अलच्छिना!" भन्दै म हिडें।

"अब रिस त ममाथि पोखिहाल्छ। तँ त बचिहालिस् नि" बाङ्गेलाइ भन्दै म ओर्लिएँ, बाङ्गे कौसिमै थ्यो।
नारन्दाइको वरी परी दुई चार जना भेला भैसक्या थिए। सप्पैको अगाडि पूजा गर्ने भो अब भनेर मन ओइलायो। डराई डराई अगडि पुग्या त नारान्दाइको खुट्टाबाट त तरतरी रगत पो आइरारेछ।
"जा त्याँ प्रसन्न मेडिकल हलसम्म गएर टिटानसको सुइ दिन्छ कि सोधेर आइज। ह्याँ नारन्दाइलाइ चहियो।" काकाले आदेश दिए।

अस्टमान्दाइसँग परेछ आज नारान्दाइको ट्वाँट् लाएसि जग्गाको बारेमा। अस्टमान्दाइको पालो कोदालोले बजाइदिएछन् नारान्दाइको खुट्टामा। त्यै भ'र अघिदेखि अस्टमान्दाइमाथि जाइ लाग्ने सनकमा करका रेछन् नारान्दाइ। ठुलो राहत भो! बाङ्गेलाई हेर्या अझै कौसीमा टुक्रुक्क बसिरा रेछ। तेल्ले पक्कै सुन्या छैन खास कुरो भन्ने मलाई थाहै थियो। त्यसैले बाङ्गेले समेत सुन्ने गरी कौसिमा देखाएर म कराएँ "ऊ त्याँ छ बाङ्गे नारान्दाइ" भनेर।

झिमिक्क गर्दा बाङ्गे गायब् कौसीबाट । नारान्दै अलमल्लमा परे। सबैले कौसीतिर हेरे तर किन हो कसैलाई थाहा छैन। पछि कोठामा आएर हेर्छु त हर्लिक्स्को झोला त बाङ्गेले लगेनछ।

Rate This Article

Thanks for reading: बाङ्गे (हाँस्य कथा), Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.