Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

विजयादशमीमा लगाइने जमराको महत्व

विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र -बडादसैँ) को पहिलो दिन दसँैघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरूपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आˆना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दसैंमा किन प्रसाद स्वरूप जौको अङ्कुर जमरा लगाइन्छ त ? के महìव छ त जमराको ?

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महìव कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महìव कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइर्ं उनीहरूको छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तìव भन्दा जौ वा यसको अङ्कुरमा पाइने तìव तुलनात्मक रूपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रूपमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।



'दसैं' ः उहिले र अहिले

हिन्दूहरूको महान् चाड हो दसैं । दसैंलाई दशहरा, वडादसैं, विजयादशमी, आयुध-पूजा आदि नामले जानिन्छ । आश्विन शुक्ल पक्षको दशमी तिथि यस पर्वको प्रमुख दिन हो । भगवान् राम र शक्तिस्वरुपा भगवतीले यसै दिन रावण र महिषासुर राक्षसको वध गरी विजय प्राप्त गरेकाले यसलाई विजयादशमीको नामले पनि जानिन्छ । दसैंलाई हिन्दू संस्कृतिले वीरताको पूजक तथा सौर्यको उपासक मान्छ । यस पर्वले काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिने विश्वास गरिन्छ । दसैंलाई हिन्दूका अतिरिक्त बौद्ध र मुस्लिम लगायतका धर्मावलम्बीले पनि मनाउने गर्दछन् । त्यसैले यसलाई साझा चाडको रूपमा लिने गरिन्छ ।

नेपाल बाहिर बसोबास गर्ने नेपालीले दसैंलाई गोर्खालीको पहिचानको रूपमा लिन्छन् । शक्तिको प्रतीक दसैंलाई हिन्दूहरूले अनादिकालदेखि साझा पर्वकोे रूपमा मान्दै आएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीकको चाडको रूपमा दसैंलाई लिइन्छ । आपसमा झगडा गरेका नातेदारहरू पनि दसैंको अवसरमा टीका थापेर बोलचाल गर्ने गर्दछन् ।

यही दसैं मनाउने कुरामा केही भिन्नता आएको त छैन ?  प्रस्तुत छ, देशका विशिष्ट ज्येष्ठ नागरिकहरूको धारणा ः

दसैं मनाउने बदलाव आएको छैन

डा. सत्यमोहन जोशी -संस्कृतिविद्)

समय अनुसार सारमा अलि परिवर्तन आए पनि दसैं मनाउने प्रचलनमा कुनै भिन्नता आएको छैन । पूजापाठ उही छ । दसैं मनाउने बदलाव आएको छैन । शैलीमा केही फरकपन आएको हुनसक्छ । अहिले जाति-जनजाति तथा क्रिश्चियनलगायतका धर्मावलम्बीहरूले दसैं चाड हाम्रो होइन भन्ने गरे पनि सबैले मनाउँछन् । त्यसैले पनि दसैं राष्ट्रिय पर्व हो । दसैं हाम्रो चाड हैन भन्नेले पनि दसैं खर्च बुझ्न पछि पर्दैनन् । बिदाको सुविधा पनि लिन्छन् । दसैंमा शक्तिको पूजा हुने हुनाले सबैजना शक्तिलाई मान्छन् । शक्तिको पूजन र विश्वासमा कुनै भिन्नता आएको छैन । उहिले जस्तो आज पनि देवीको पूजा गरिन्छ ।

शुभकामना आदानप्रदान तथा मान्यजनको आशीर्वाद लिने पक्ष यस चाडको सबैभन्दा उत्तम पक्ष हो । सनातनीपर्वदेखि चलिआएकाले बलि प्रथामा खोट लगाउनु उचित हुँदैन । मानवीयताका हिसाबले हेर्दा त्यसमा खोट लगाउन भने सकिन्छ । अहिले देखिएका केही विकृतिलाई समेत समयले आफसेआफ ठीक ठाउँमा ल्याउँछ । मानिसमा चेतना बढ्दै गएपछि बलि दिने विकृति पनि पनि ठीक हुन्छ । जसको जे हैसियत छ, त्यही हैसियतमा दसैं मनाउनुपर्छ । ऋणधन खर्चेर दसैं मनाउनु उचित होइन । साहुको घर नचहारी आˆनो बलबुता र औकातले भ्याएसम्म मात्र दसैं मनाउनुपर्छ । दसैंमा पश्चिमा संस्कृतिले प्रभाव पारेको छैन । पश्चिमा देशमा दसैं मनाउने प्रचलन नै छैन भने कसरी त्यसको प्रभाव पर्ला ?

पशुबलि हैन, पशुत्वको बलि दिइनुपर्छ

माधव घिमिरे -राष्ट्रकवि)

दसैं मनाउने तरिकामा हालसम्म कुनै परिवर्तन आएको छैन । शक्तिको पूजा गरिने दसैंले नेपालीहरूलाई एकअर्कासँग जोड्ने काम गर्छ । असत्यमाथि सत्यको विजयको रूपमा मनाइने चाडले नेपालीहरूलाई प्रगतिपथमा लम्कन सन्देश दिन्छ । मानव मनमा भएका खराब तत्त्व, दुर्गुणहरूको अन्त्यका लागि शक्तिकी देवी भगवतीसँग आशीर्वाद माग्ने गरिन्छ । आˆना मान्यजनको आशीर्वाद लिने चाड भएकाले पनि नेपाली समाजमा यसको महìव घटेको छैन न त घट्ने नै छ । दसैंको आन्तरिक पक्षमा कुनै परिवर्तन नभएको भए पनि बाहृय पक्षमा तात्त्विक भिन्नता आएको छ । दसैं पर्वलाई हिन्दू बाहेकका धर्मावलम्बीहरूले समेत मान्ने र रमाइलो गर्ने हुनाले यस चाडलाई नेपालीको साझा चाडको रूपमा लिइन्छ ।

दसैंमा बलि दिइने प्रचलन उहिलेदेखिको भए पनि यसमा विकृति भित्रिएको छ । अज्ञानता र देखासिकीले विकृति मौलाउने अवसर पाएको छ । दसैंमा पशुत्वमन र विचारको बलि दिने ठाउँमा निरीह पशु, जीवलाई बलि चढाइनु गलत कुरा हो । मान्छेले अङ्गालेको पशुत्व, कुविचार र कुसंस्कारलाई दसैंमा बलि दिइनुपर्छ निरीह जीवजनावरको होइन । निर्दोष जीवजनावरलाई बलि चढाउने कुरा भगवतीको इच्छा विपरीत छ । बलि भनेको समर्पण हो । पूजापाठ बलिविना पनि हुन्छ । सबैजना दसैंमा बलि दिएर मात्र पूजा गर्दैनन् । मिठाई, नरिवल, फूलपातले समेत दसैंमा देवीको पूजा गर्ने चलन छ । मासु खाने बहाना र आफूलाई ठूलो देखाउने प्रचलनले स्थान लिन थालेपछि कमसल वर्गकाले समेत धनाढ्यको देखासिखी गर्दा विकृति झाङ्िगँदै गएको हो ।

प्रकृतिलाई नबुझेर बलिदिने परम्परा बस्यो

डा. चिन्तामणि योगी -संस्कृतिविद्)

दसैं पुण्य र अहिंसामय चाड हो । मानिसको अल्पज्ञानकै कारण यसमा विकृतिले ठाउँ न पायो । भगवानको पूजा गर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार भगवान्लाई दिएर शक्ति माग गर्दछ । उहिले मानिस जङ्गलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवन गुजारा गर्दथे । त्यतिबेला उनीहरूसँग भगवान्लाई चढाउने आजको जस्तो उपहार थिएन । त्यसैले उनीहरू आफूसँग भएको सामान चढाएर भगवान्को पूजापाठ गर्दथे । उनीहरूको जीवन प्रकृतिमै निर्भर थियो । माछा मारेर जीवन धान्नेसँग माछा मात्रै थियो । जङ्गलमा शिकार गर्नेसँग शिकार मात्रै थियो । अन्न उब्जाउने किसानसँग अन्न मात्रै थियो । बाँकी ज्ञान, विज्ञान र प्रविधि उनीहरूसँग थिएन । त्यसैले उनीहरू भगवान्लाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । उनीहरूको मनसाय कसैको वध गर्ने थिएन । जीवन निर्वाहको बाटो उनीहरूको त्यही थियो । उनीहरू प्रकृतिको नियमसँग बाँधिएका थिए ।

ज्ञान र सीप भएका मानवले देवीलाई अरूको वध गरेर रगतको बलि दिनु विकृति हो । यसले मानवलाई सन्तुष्टभन्दा असन्तुष्ट बनाउँछ । यसले मनमा शान्तिभन्दा अशान्ति पैदा गर्दछ । पशुपन्छी, जीव सबैको ज्यान समान हो । सबैलाई समान पीडाबोध हुन्छ । कसैलाई दुखाएर, मारेर देवी खुसी हुँदैनन् । बलि दिने प्रचलन कहिलेदेखि भयो भन्ने कुराको यकिन त छैन तर अध्यात्मपक्ष कमजोर भएदेखि नै बलि प्रथा सुरू भयो । शास्त्रमा लेखिएको विद्याको सही अर्थ लगाउन नसकेर पनि विकृति बढ्यो । अर्थको अनर्थ भएर संस्कृतिमा विकृतिले स्थान पायो । मानिसको स्वार्थ र अज्ञानताले बलि दिने प्रचलन सुरू भएको हो । यसको दोषी हामी मानव हौं । मानवको अज्ञानता हो । शास्त्रीय मान्यतामा 'बलि' को अर्थ 'उपहार' हुन्छ । उपहार खीर, फलफूल, मिठाई, नरिवल जे पनि हुनसक्छ । अरूको रगत चढाउनु उपहार हुनसक्दैन ।

पूजा गर्नुमा तात्विक भिन्नता छैन । उहिले पनि देवीको पूजा गरिन्थ्यो, अहिले पनि गरिन्छ । मात्र पूजा गर्ने विधि र शैलीमा परिवर्तन आएको छ । उहिले साधारण प्रकृतिपूजन हुन्थ्यो । अहिले तडकभडक बढी छ, प्रदर्शनी बढेर बनावटी पूजा हुन्छ । उहिले दसैं साधनाप्रधान थियो अहिले मनोरञ्जनप्रधान भएको छ । अहिले जुवातास, पशुबलि, मद्यपान बढेको छ । उहिले उपहार र प्रसाद चढाएर देवीको पूजा गरिन्थ्यो । अहिले पशुबलिको प्रतिस्पर्धा छ । उहिले सामान्य हाँस, कुखुराको बलि दिइन्थ्यो अहिले ठूलठूला पशुहरूको बलि दिइन्छ । उहिले भोजभतेर सामान्य थियो, अहिले राजषी भोज हुने गरेको छ ।

विकृति संस्कृतिमा होइन, समाजमा छ । हाम्रो संस्कृति दुई-चार हजार वर्षको होइन । यो त हजारौं हजार वर्ष पुरानो संस्कृति हो । संस्कृतिको सही अर्थ लगाउन नसकेर त्यसमा विकृति आएको हो । समाजको विकृतिलाई हटाउनसके संस्कृतिमा विकृतिले छुनसक्दैन । अहिलेको युवा पुस्ताले बुझ्नुपर्ने कुरा यही छ । सुधारको नाममा संहार गरिनु कदाचित उचित होइन ।

आर्थिक पक्षले दसैंमा विकृति ल्यायो

चेतोनाथ शर्मा -संस्कृतिविद्)

दसैंमा सबैथोक छ । यो 'बुझ्नेका लागि श्रीखण्ड हो, नबुझ्नेका लागि खुर्पाको बिँड ।' सद्भाव र सहकार्यको मूल यस पर्वले नेपाललाई शक्तिपूजक देशको पमा चिनाएको छ । देवीलाई प्रकृतिको रूपमा पूजन गरिने हुनाले यसको महिमा बढेको हो । यो 'वीरपूजा' को रूपमा चिनिन्छ । दसैं आफैँमा नेपालीजनको पहिचान र शक्ति हो तर यसमा विकृतिको प्रवेशले दिनदिनै ठूलाठालुको लागि मात्र सीमित हुन खोजिरहेको भान हुन्छ ।

उहिले दसैं 'सादा जीवन उच्च विचार' ले मनाइन्थ्यो । मान्छेमा आत्मस्वार्थ थिएन । देवीको पूजा स्वार्थरहित भावनाले स्वच्छ मनले गरिन्थ्यो । बलि प्रथामा पनि विकृति थिएन । सक्नेले सानातिना बलि दिन्थे, नसक्नेले मिठाई र फलफूलबाटै काम चलाउँथे । अहिलेको जस्तो भोजभतेर र तडकभडक थिएन । आत्मीयताले सबैलाई बाँधेको थियो । देवीको पूजाले मनमा आनन्द र शक्ति प्राप्त भएको महसूस हुन्थ्यो । सबैतिर सद्भाव र आत्मीयता थियो । चोखो मनले सबैसँग व्यवहार गरिन्थ्यो ।

अहिले दसैंमा विकृति भित्रिएको छ । यो विकृति भित्र्याउने हामी नै हौं । संस्कृति आफैँमा खराब चिज होइन । यसले त जनजनको आत्मालाई जोड्ने पुलको काम गर्ने गर्छ । स्वार्थी भावनाले त्यस पुललाई भत्काउने प्रयास गरिरहेको छ । तँ र मँ को भावना विकास भएको छ । आर्थिक स्थिति र आडम्बरले विकृति बढायो । लवाइ-खवाइमा बढोत्तरी भयो । प्रचार र देखावटी चिजले बढी स्थान लियो । सही संस्कृतिको अवलम्बन कसैले गरेन । सम्पन्नवर्गले नेपाली संस्कृतिलाई भड्किलो बनाए । सामान्यवर्गका मानिसले पनि त्यही कुरा गर्न खोजे । छाडा संस्कृतिले प्रश्रय पायो । प्रथाजनित नियम र कानुन एकातिर छन्, मानिसको व्यवहार र शैली अर्कोतिर । चाड भन्दै रमाइलो गर्ने बहानामा मनपरी बढेको छ । यी सबै अहिलेका पुस्ताका लागि डरलाग्दा विकृति हुन् ।

आराधना र पूजा त शक्तिको अर्को रूप हो । विद्या र सेवामा नै 'ऐश्वर्य' को बास हुन्छ तर त्यो विद्या र सेवा स्वार्थरहित हुनुपर्छ । नितान्त जनहितका लागि । अहिले बलि दिने प्रचलनमा विकृति देखिएको छ । तड्पाई-तड्पाई पशुलाई बलि दिने गरिन्छ, जुन अशोभनीय छ । देवीलाई खुसी पार्न जीव-जनावरको बलि दिने प्रचलन सुरूमा नभए पनि विस्तारै त्यसले समाजमा स्थान लियो । मासु खाने बहानामा पनि बलिप्रथाको बिगबिगी बढेको मान्न सकिन्छ । चाडवाडको नाममा आफन्त र घरपरिवारका सदस्यहरूलाई मासु खुवाउने नाममा बलिप्रथाले तीव्रता पायो । माथिल्लो तहका धनाढ्यहरूले यसलाई बढी अवलम्बन गरे । त्यही कुरा अन्यले पनि सिके र सकी नसकी बलि दिएर शक्तिस्वरुपा देवीलाई खुसी पार्न खोजे । त्यसले पनि विकृतिलाई मलजल गर्‍यो ।

Rate This Article

Thanks for reading: विजयादशमीमा लगाइने जमराको महत्व, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.