Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

अष्टमी (कथा) – टेकेन्द्र खड्का

"आमा, यो दशैं किन आउँछ ?" म घरमा रंग पोतिरहेका घरमालिकलाई हेर्दै भन्छु । आज सबेरै देखि घरका प्राय सबैजना घर सिंगार्न व्यस्त छन् । रेडियोमा दशैंको बाजा
"आमा, यो दशैं किन आउँछ ?" म घरमा रंग पोतिरहेका घरमालिकलाई हेर्दै भन्छु । आज सबेरै देखि घरका प्राय सबैजना घर सिंगार्न व्यस्त छन् । रेडियोमा दशैंको बाजासहितको शुभकामना घन्किरहेका छन् । मालिककी कान्छी छोरी घरवरीपरीको झारपात उखेलेर सन्याकसिनिक्क पारिरहेकी छिन् ।
 
"खै, के भन्नु तलाइँ, मलाई थाहा भएदेखी दशैं मनाउँदै आ'का छन्, किन मनाउछन् थाहा छैन तर बर्षेनी म एउटा़ सन्तान गुमाउँछु " आँखाभरी आँशु पार्दै मेरी आमा दुखेसो पोख्न थालिन् । "आमा, यसपाली पोहोर साल दाजुलाई मारेजस्तै मलाई नि मार्ने रे, हो ?" डराईडराई मैले भनें ।

"खै बा" लामो सास फेर्दै आमाले भनिन्, "यो दशैं हाम्रा लागी दशा हो बाबै, बाँचुन्जेल कहिलै मेरो मनमा शान्ति नआउने भयो" आमाका आँखा छछल्किए ।

"आमा, मलाई मर्न मन छैन" मैले आमाका आखालाई साथ दिदैं भनें । मेरा आखाँमा आशुँ देखेपछि आमाले मन थाम्न सकिनन् क्यार, धेरैबेर आशुँ बगाईरहिन् ।

 
नयाँबर्षको अघिल्लो रात बा ले भन्या कुरो सम्झिएँ, "हेर् साँइला, दशैंमा खाने भनेर तीन बर्षदेखी पोसेर राख्या थे मलाई । नयाँबर्षमै मार्ने भए, तलाई दशैंमा मार्छन् होला साँइला, तेरो ठूल्दाईलाई पोहोर दशैंमा, माल्दाईलाई अस्ति दशैंमा मारिहाले, आमा ज्यादै रोगी भाकी छे आजकल, हाम्रो जुनी नै यस्तै रहेछ, आमाको राम्रो ख्याल राख्नु, काँईला र कान्छालाई सम्झाउनु" त्यो रात बा मलाई अंगालो हालेर धेरै बेर रोईरहे । बासँगको अन्तिम रात थियो त्यो । बिहानै जवरजस्ती घिस्याउँदै बालाई लैजादाँ आमा अर्धबेहोसी भएर हिक् हिक् गरिरहेकी थिईन् । दिनभरी सबै रोईरहे, सुन्ने अहँ कोही थिएनन् ।

बालाई सम्झेर हो या दशैंको कहाली सम्झेर आज मलाई केही खान मन लागेन, झोक्राईरहें, दिनभर । न त घाँस खान मन लाग्यो न त केही बोल्न नै । आमा पनि मनभरी पिर लिएर बसिरहिन् । 'डेडी, यसपाली यो जखमलेलाई च्वाट्टै पार्ने है है? कहिले काट्ने डेडी?' घरमालिकको सानो छोराको आवाज मेरो कानैमा ठोक्कियो । मेरो जीउ नै तिरीमिरी भयो, आमाका पनि कान ठाडा भए । टाट्नामा बाधेका, आमा, माहिली सानिमा, ठूल्दिदी, काहिली काकी, दुईटा साना भतिजाहरू र मेरो काँइलो र कान्छो भाइमध्ये जिउ स्वाँठ्ठ परेको खाईलाग्दो म मात्रै थिएँ ।

"अष्टमीमा काट्नुपर्छ कान्छा" मालिक आफ्ना छोरालाई मलाई मार्ने दिनको घोषणा गरेर सुनाउँदै थिए ।
 
"डेडी अष्टमी भन्या कहिले हो ?"
 
"छिट्टै हो बाबा, छिट्टै, जाउ तिमी काटुन हेर्न" मालिक्नी पनि त्यतै डुल्दै रहिछिन् छोरालाई फकाईन् । त्यसो त छोरालाई जति माया गर्थिन् त्यो भन्दा बढी माया त मलाई गर्थिन् उनी । एकदिन ठूस्केर केही कुरो नखाईदिदाँ धामी झाक्री गर्नदेखी डक्टर ल्याउन उनी नै पहिले हामफालेर पुग्थिन् । मैले दाना खाईरहदाँ उनी सधैं मायाले मेरो टाउको मुसारिरहन्थिन् । उनकै छोरासँग खेल्दै, उफ्रिदैं, रमाउँदै ठूलो भएको थिएँ म । म ठूलो भएपछि मलाई दाम्लोले बानियो, बिस्तारै उनको छोरा र मेरो सम्बन्ध पातलो बन्न पुग्यो । सानो छदाँ सँगै खेल्दै उफ्रिएको सबथोक भूलेर मलाई मार्ने दिन सोध्दै थियो ल्वाँठ ।

मलाई त्यो दिन देखि खानमा रूची हराउँदै गयो । जब कालको पूर्वाभाष हुन्छ, म मर्दैछु भन्ने प्रष्ट हुन्छ तब हौसिएका ईच्छाहरू पनि कता लुक्छन् लुक्छन्, धुँइपाताल खोज्दा पनि देखिदैंनन् । जतिजति अष्टमी नजिकिन्थ्यो, मनमा मुटूले ढ्याङ्ग्रो बजाउँथ्यो । सप्तमी पनि आईसक्यो, बेलुका खोरमा बसेपछि खुब रून मन लाग्यो । रूनको लागी मात्र पनि म त्यो खोरमा कहिलै आउन पाउनेछैन मेरो मनमा खाली यही कुरा मात्रै आईरह्यो । जसको काखमा लडिबडी गरेर हुर्किएँको थिएँ, आजपनि भाइहरू लाखापाखा लागेको बेला आमाकै काखमा पल्टिन्थें म, त्यो काखमा पल्टिनकै लागी पनि अब म आउन पाउँदैन थिएँ । 

सबैसँग बिदा मागें, ठूल्दिदीले औधी माया गर्थिन्, मलाई गुमाउँदाको पिडा सबैभन्दा बढी आमा र ठूल्दिदीलाई परेको थियो । मसँग छुट्टिनुपर्दा सबैको मन रोएको थियो तर त्यो मन फकाउने आधार केही थिएन त्यहाँ, हामी अवेरसम्म गफगाफ गरिरह्यौं, मैले आमालाई भनें, "आमा, रोगी भईसकेउ, आफ्नो ख्याल गर है, चिसो ठाउँमा वास्तै नगरी बस्छेउ, अब पहिलेजस्तो तागत पनि छैन, अलिक होस पुराउनु, भाइहरू बर्सेनीका भएपनि सानै छन् अलिक सम्झाई बुझाई गराउनु"

आमा केही बोलिनन्, एकोहोरो रोईमात्र रहिन् ।

मैले फेरी भनें, "आमा आज अन्तिम खेप तिम्रो काखमा सुत्छु न है ?"

यो सुन्नासाथ आमा भक्कान्निदैं मलाई अंगालो हालिन्, गालामा म्वाई खाईन्, म उनको न्यानो काखमा लुटपुटिएँ । रूँदारूँदै कतिबेला निदाएछु पत्तै पाईनँ । भालेले खोरैमा चिच्याएसी मेरो निंद खुल्यो । आज अष्टमी, मेरो जीवनको अन्तिम दिन । सबै बिउँझिए, मुख निन्याउरो पारे, आमाका आँखा सुन्निएका थिए।
 
केहीबेर पछि मान्छेहरू भेला हुन थाले, पानी तताउन थाले । दुईजना भुसतिघ्रेहरू आएर मलाई दाम्लाले बाने । मैले आमालाई भनें, "आमा, अर्को जुनी मान्छे भएर जन्मिन पाएँ भने तिम्रै कोखमा जन्म लिन्छु है, नरोई बस"

आमाले हेर्न सकिनन् क्यार, मुन्टो उता घुराईन् । खोरभरी सबैका आँखा टिलपिल थिए, अन्तिम पल्ट सबैका मुखमा हेरें, अब त चाहेर पनि हेर्न नपाउने थिएँ मैले । सबैलाई अन्तिम बिदा गरें मैले, मैले घाँस खाने टाट्नो मलाई नै टुलुटुलु हेरिरहेको थियो, थलाको दाम्लो भुइँमा निराश भई मलाई गुमाउनुको पिडाबोध गर्दैथियो ।

मलाई घिस्याउँदै आँगनतिर लगे । मालिक्नीको मुहारमा पिलिक्क हेरें, गहभरी आँशु लिएर पर बसेर टुलुटुलु हेरिरहेकी रहिछिन् । मलाई आँगनमा ल्याएपछि उनी भित्र पसिन् । सायद, हेर्न सक्दैनथिईन् मलाई काटेको । मैले पहिले बालककालमा नाचेको आगँन सम्झिएँ, छुनुमुनु गर्दै उफ्रिएको त्यही आगँनमा आज म मर्नको लागी घिस्याइँदै थिएँ । सधैं म बस्ने खोर तिर हेरें, "अब त कहिलै आउँदैनस् है !" भन्ने भावले मलिन भई मलाई नै हेरिरहेको थियो । वरीपरी अन्तिम नजर डुलाएँ, सयपत्री, गोदावरी र मखमली फक्रदैं थिए । म केही बेरको पाहुना सम्झिएर होला, निशब्द मलाई नै बिदा गरिरहेका जस्ता देखिन्थे । आकाश नियाँले, घामलाई कुहिरोले छेलिदिएको थियो, खै के को रिसिवी थियो कुन्नि ।

मलाई अचानोको माथि राखे । एकजना मान्छेले पछाडीका खुट्टा समात्याे, एउटाले अगाडी मेरो घित्रो तन्किने गरी घाँटीको डोरी तान्यो । अर्कोले दापबाट लामो ठूलो धारिलो खुकुरी निकाल्दै गर्दा मेरो जिउ एकपल्ट सिरिङ्ग गर्यो । मर्नैपर्ने भएकोले होला डर लागेर नि धर थिएन । उनीहरूको लागी आहार बनिदिन मुटू कठोर पारिरहेको थिएँ । पानी छर्किएर पर्सिए मलाई, खुकुरीवाला छेउमा आयो, मेरो घाँटीको डोरी तान्नेले डोरी दह्रो गरी तन्कायो । मनमनै सबैजना मानिसलाई दशैंको शुभकामना दिएँ मैले ।

मेरो घाँटीमा खुकुरी आईपुग्यो, आँखा चिम्म गरें, अगाडी उनै मेरी आमा झलझली आईन्, मुखबाट एउटै चित्कार निस्कियो,

"आमा.......! म मरें है"

समाप्त

लेखक : टेकेन्द्र खड्का
२०७५/०६/३१ गते ।

यो कथाको अडियो सुन्नकोलागीः



Rate This Article

Thanks for reading: अष्टमी (कथा) – टेकेन्द्र खड्का, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor

Post a Comment

तपाइँलाइ माथिको लेख कस्तो लाग्यो ? आफ्नो धारणा ब्यक्त गर्नुहोला !
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.