मैले जानीनजानी थालनी गरेका कथा लेखनका प्रयासलाई बुझेर केही मित्रहरूले फेरी पनि लेख्न गर्नुभएको अनुरोध नस्वीकारी बस्न सकिंन, तसर्थ मेरा बालापनका ती क्षणहरूलाई समेटेर कथारूपी लेखमा ती क्षणहरूको सुरूवाती चरण स्पर्ष गराउँन चाँहे मैले यसरी :
बालमस्तिष्कमा के आउँदो हो, के बित्दो हो यो त कसलाई पो थाहा हुन्छ र? नबुझी गरेको बालप्रेमले पनि भबिष्यमा आएर बिस्मृतिका कुनै खण्डहरका कुनाकाप्चाबाट चिहाईरहेका हुदाँरहेछन् भन्ने ज्ञात हुन्छ अचेल मलाई, अनि सम्झन्छू तिनै मेरा बाल्यकालका अतीतका तीतामिठा क्षणहरू अनि पल्टाउँछू अतीतका ती पानाहरू ।
कक्षा दुईमा पड्थे म त्यतिबेला, सायद त्यो बेलाका बालबालिकाको स्कुल जाने उमेर पनि भएको थिएन होला । यतिबेलाको जस्तो हो भने त कुरा अर्कै हुन पुग्थ्यो होला, त्यतिबेला म दुईकक्षामा पड्थे, त्यस्तै ४/५ बर्षको हुँदो हूँ त्यो बेला । मेरो बुवा त्यही बिद्यालयका शिक्षक, म अढाई बर्षको हुदैँ बोकेर स्कूल पुर्याएको कुरा गर्नुहुन्छ अहिले पनि कहिलेकाहीँ । म पढाईमा त्यति धेरै जान्ने त होईन तर नजान्नेको भीडमा जान्ने कहलाउथें म, त्यसैले पनि होला ५ कक्षा सम्म मैले बिताएको स्कूलमा दोस्रो मैले कहिल्यै हुनपरेन ।
अनेकन पलहरू बित्तै गए, प्राय स्कूले खेल्नमा बढी चासो दिन्छन् तर पहिलादेखि नै मलाई चै किन हो खेलमा त्यति धेरै चाख लागेन र आज पनि त्यति धेरै लाग्दैन । त्यो बेला प्रायस: रिंग कपर्ती, कपर्ती, चुँङ्गी (बनमाराको पातको) आदि खेल लोकप्रिय थिए । म चाहिँ कि बिद्यालय प्रांगणमा रहेको सल्लोको रूखका दाना खोजेर बस्थेँ कि त कक्षामै म भन्दा माथिल्लो कक्षाका नेपाली किताबहरू लगेर कथा पढेर बस्तें । कथा पढ्न सानैदेखी रहर लाग्ने, त्यही भएर होला आज पनि कुनै उपन्यास, कथा हात लाग्यो भने सबै काम छाडेर त्यो चाही पहिला पढेर सक्न मन लाग्छ र सक्छु पनि ।
खेल त खेल्ने तर धेरै कम खेल्ने, खेलको स्वर्णिम संसारबाट टाढा रहि मेरो समीप बस्न रूचाउने मेरी एउटी बालसखा थिई 'ठूली' ! उसलाई किन ठूली भनि बोलाँउथे त्यो तिर नजाउँ हामी । म खेल खेल्दैनथें, उ पनि प्राय खेल्दिन थिई । म भन्दा सायद कान्छी नै थिई होला उमेरले गर्दा तर ज्यान चै म भन्दा अलिक ठूलै थियो । म प्राय केटीहरूसँग पहिलादेखि नै त्यति नबोल्ने तर ठूलीसँग हलुका गफ गर्थे म । सायदै उ पनि मख्खै थिई म सँग गफ गर्न पाउँदा।
गोरो बदन, हल्का कैलो कपाल, चिम्रा आँखा अनि मायालु अनुहार, छेउमा आएर उभिन्थी उ, र म सुनाउथें उसलाई मेरा कपोकल्पित सपनाहरू जो भबिष्यमा कुनै हालतमा पुरा हुनेथिएनन् सायद । एकदिन त ढोकानेर उभिएकी म बसेको बेन्च तिर बोलाएँ, उ कुनै आज्ञाकारी बच्चा सरि म बसेको ठाउँमा आई । मैले भनें, "ठूली, म ठूलो भर तँ सगैं ब्या गर्ने है?" एक्कासी मैले यस्तो प्रश्न सोध्दा अवाक् भई टुलुटुलु हेरिरहि मेरो अनुहार तिर, कुनै अबोध बालक आफू भित्र अनेकन कौतुहलता संगालेर हेरेझैं । मलाई पनि त कहाँ थाहा थियो र बिवाह भनेकै के हो भनेर, तै पनि कतै ठूलाको मुखबाट सुनेको कुरा छरपस्ट पार्दै थिएँ म उ सामु, स्वयं अनविज्ञ भएर ।
"हुन्छ", उसको यो जवाफले म मा उत्साहको आवेग रक्तप्रवाहसरि बेगिएर आयो । मैले भनें, "अनि ब्या गरेसि त हाम्रैमा बस्ने अनि सँगै स्कूल आउने है!" बालमनमस्तिष्कमा यी र यस्तै कुराले पहिलो प्राथमिकता पाउँथ्यो सायद, "नाई म त मेरै घरमा बस्ने!" उसको जवाफ मेरो बिरूद्धमा आएको भान पर्यो मलाई, तैपनि मैले भने, "ल न त ल, तँ तेरै घरमा बस् म मेरै घरमा, तर ब्या चै मसँगै गर् नि ल?" मैले आग्रह गरें । उसले सहमतिमा मुन्टो हल्लाई । म प्रफूल्लित हुदैं घर गएँ तर घरमा पुग्दा नपुग्दा मभित्रबाट सो कुरा सेलाईसकेको थियो तैपनि भोलीपल्ट स्कूल पुग्दा मनमा जागा भैहाल्थ्यो ती कुरा। कुनै दिन उ आईन भने पुरै दिन के छैन के छैन लाग्थ्यो । बालाप्रेम थियो त्यो, स्वार्थ थिएन त्यसमा, थियो त बनावटी सपना । त्यसपछिका दिनहरू बित्तै गए, प्राय होमवोर्क सिकाईदिन्थें म उसलाई अनि दिनैपिच्छे म एउटै कुरा दोहोर्याईरहन्थें 'ठूली, ठूलो भ'र मँ सँगै ब्या गर् है' तर कक्षामा कोही नभएको अवस्थामा मात्र, किन कि त्यसबेला पनि जोडी बनाएर मजाक उडाउने चलन ब्याप्त थियो ।
बार्षिक परिक्षा पनि सकियो, रिजल्ट आउने दिन म बुवासंगै स्कूल गएँ, निकै बेर बसेपछि कृष्ण सर हाम्रो कक्षाको रिजल्ट लिएर आउनु भो, 'टेकेन्द्र खड्का फस्ट, प्रताप देवान सेकेन्ड, ......' ठूली आठौं भकी थिई, तर त्यहाँ थिईन । चारै तिर आँखा डुँलाए, तर अहँ थिईन उ त्यहाँ । त्यसपछि दगुर्दै घर गएर रमाईरमाई ममिलाई 'फस्ट भएको' कुरा सुनाएँ अघिल्लो सालको जस्तै गरि ।
तीन कक्षाको पढाई सुरू भयो तर ठूली भने अनुपस्थित थिई, उसका आफन्तले तेह्रथुममा लगेर पढाउन थालेछन्, पछि मात्र खबर पाएँ । त्यसपछि मेरो उ सँग भेट भएन । सायद दैवको नै यही अभिलाशा थियो होला । म मावलमा बसेर पढ्न थालें पाँचौ कक्षा पछि । एस.एल.सी पछि म धनकुटा तिर हान्निएँ । लगभग ११ पढ्दै खेरी घर तिर जाँदा सुनेँको थिएँ ठूलीले त बिहे गरि रे भनेर ! अनि त्यो बेला सोचें मैले, 'सायद, बाल्यकालमा घटेका ति घटनालाई बर्तमानले थपक्कै ढाकिदिएको थियो क्यार, एउटा तह बनेर' । पोहोर सालको कुरा हो, दशै तिर घर जाँदा कसैले सुनायो मलाई "ठूली थि नि ठूली, उ त झुन्नेर सुसाईड गरी रे!"
आघात् पुग्यो मनमा, कति चै छोटो दिन कि रहिछ, ब्या पछि एकपल्ट चै भेट्ने अभिलाषा थियो मेरो । बाल्यकालमा नबुझी नबुझि भए नि "तैं सँग ब्या गर्छू" भनेर भन्ने केटी आज यो दुनियाँमा थिईन । आखिर के चै पर्यो त्यस्तो जसले उसलाई त्यति लाचार बनायो? यसको जबाफ सायद म सँग छैन र मैले खोजे पनि यकिन जवाफ कतैबाट पाउने छैन । भौतिकरूपमा उ थिईन यो संसारमा थिए त केवल उसका ती यादहरू, उसँग बिताएका पलका स्मृतिहरू, कहि कतैबाट मलाई चिहाएर हेर्दै थिए, म अतीतका क्षणहरूबीच रूमल्लिएर सोच्दैं थिए, उ अर्थात ठूली, अर्को जन्ममा म सँगनै बिहा गर्ने वाचा पुरा गर्न कतै पर्खिरहेकी हुँदी हो, कुनै अनकन्टार ब्रह्माण्डको कुनै कुनामा ।
समाप्त ।
नोट: यस कथाका स्थान, घटना एवं पात्र वास्तविक हुन् कहीं कतै काल्पनिक लाग्न गएमा संयोग मात्र हुनेछ ।
मिति : २०७३/०८/१५ गते ।
यस कथाकाे अडियो सुन्नको लागीः
Rate This Article
Thanks for reading: कथाः ठूली – टेकेन्द्र खड्का, Stay tune to get latest Blogging Tips.